नारायणहिटी सङ्ग्रहालयको आधुनिकीकरण र विस्तार : नीतिगत स्पष्टता र पूर्वाधार विकासमा जोड

लोकपथ
28
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक डा.सुरेश सुरस श्रेष्ठले संग्रहालयको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट राष्ट्रिय नीतिको आवश्यकता रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीतिगत अभावका बाबजुद संग्रहालयको आधुनिकीकरण, अभिलेखीकरण र भौतिक सुधारका कार्यहरू अघि बढिरहेको जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालमा संग्रहालयशास्त्र (म्युजियोलोजी) अध्ययन गरेका दक्ष जनशक्ति पर्याप्त भए पनि उचित नीति अभावका कारण सोचेअनुरूपको प्रगति हुन नसकेको अवस्था छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट उत्पादित जनशक्तिले संग्रहालय क्षेत्रमा योगदान दिइरहेको उनले उल्लेख गरे ।

उनले संग्रहालयमा रहेका ऐतिहासिक तथा संवेदनशील वस्तुहरूको संरक्षणका लागि डिजिटाइजेसन (विद्युतीय अभिलेखीकरण) लाई प्राथमिकतामा राखिएको बताए । सबै ग्यालरीहरूको पूर्ण विवरण तयार भएपछि आगन्तुकका लागि अत्याधुनिक अडियो गाइड सेवा उपलब्ध गराइने पनि उनले जानकारी दिए ।

उनका अनुसार संग्रहालय परिसरमा रहेका ऐतिहासिक हवाई साधन (प्लेन र हेलिकप्टर) तथा पूर्वराजाहरूले प्रयोग गरेका सवारी साधनहरू मर्मतपछि पुनः प्रदर्शनीमा राखिएको छ । साथै दरबारको ऐतिहासिक बगैँचालाई पुरानै स्वरूपमा फर्काउन ११ महिनासम्म पुनर्स्थापना गरिएको उनले बताए ।

उनले भने, ‘नारायणहिटीमा रहेका वस्तुहरू सङ्ख्यात्मक रूपमा धेरै र प्रकृतिमा जटिल छन् । हामी ती सबैको डिजिटल अभिलेखीकरण गरी अडियो गाइड प्रणाली कार्यान्वयन गर्ने तयारीमा छौँ ।’

यसैगरी, गणतन्त्र स्मारक परिसरभित्र रहेका केही संरचनाहरू निर्माण सम्पन्न नभएकाले सञ्चालनमा ढिलाइ भएको उनले बताए ।

श्रेष्ठले संग्रहालयलाई केवल प्रदर्शनी स्थल मात्र नभई अध्ययन र शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिए । गुठी परम्परा र सांस्कृतिक सम्पदा संरक्षणका लागि सम्बन्धित निकाय र गुठियारहरूसँग सहकार्य प्रभावकारी हुने उनको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?