काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्समा सम्पन्न कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले हासिल गरेको सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएकी छन् ।
कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त अनुभवलाई नेपाली चलचित्र क्षेत्रका लागि गौरवपूर्ण क्षणका रूपमा वर्णन गरिन् ।
उनका अनुसार कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत तथा डिनर कार्यक्रममा काठमाडौं फिल्म फेस्टिभलका सम्भावना र प्राविधिक सहकार्यबारे पनि छलफल भएको थियो । उनले काठमाडौं महानगरपालिकाले सिर्जनशील क्षेत्रलाई केवल अस्थायी कार्यक्रम नभई संस्थागत संरचनामा विकास गर्ने तयारी गरिरहेको जानकारी दिइन् ।
यस वर्षको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन् । निर्देशक अविनाशविक्रम शाहको टोलीले निर्माण गरेको उक्त फिल्मले जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई समेत दिइन् ।
डंगोलका अनुसार प्रदर्शनपछि हलमा दर्शकहरूले करिब ७–८ मिनेटसम्म उभिएर सम्मान प्रकट गर्नु नेपाली चलचित्रका लागि अविस्मरणीय क्षण बनेको थियो ।
उनले रेड कार्पेटमा नेपालको मौलिक पहिचान झल्कने हाकु पटासी र परम्परागत गरगहना प्रयोग गरिएको पनि उल्लेख गरिन् ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाले आगामी दिनमा पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने तयारी तीव्र पारेको छ । महानगरको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको बताइएको छ ।
कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणले काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन तथा अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्य विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया