हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी

लोकपथ
21
Shares

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ ।

सरकारले बन्द रहेका सरकारी उद्योगहरूलाई पुनर्जीवित गर्ने नीतिअनुसार यस उद्योगलाई प्राथमिकतामा राखेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताइन् । उनले सरकार यस उद्योगलाई पुनः चलाउने विषयमा गम्भीर रहेको उल्लेख गरिन् ।

निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगका भवन, मेसिनरी तथा अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिएकी थिइन् । लामो समय बन्द हुँदा धेरै संरचना जीर्ण बनेको र त्यसको मर्मत तथा व्यवस्थापन आवश्यक रहेको उनले बताइन् । उद्योग सञ्चालनका लागि लगानी मोडेल र प्राविधिक पक्षबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिइन् ।

यो उद्योग विसं २०५७ सालमा बन्द भएको थियो । त्यसअघि करिब १,२०० श्रमिकले यहाँ प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योगले सुती धागो, कपडा तथा सेनाका लागि आवश्यक पोशाकसमेत उत्पादन गर्दै आएको थियो ।

विसं २०३२ मा स्थापना भई २०३५ बाट औपचारिक रूपमा सञ्चालनमा आएको यो उद्योग कुनै समय देशकै प्रमुख सरकारी उद्योगमध्ये एक मानिन्थ्यो ।

उद्योग पुनः सञ्चालन भए मकवानपुर र आसपासका जिल्लामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?