काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेको छ । केन्द्रीय संगठन विभागले उनलाई पत्र पठाउँदै पार्टीबाट निष्कासन गरेको हो ।
पार्टीभित्र आर्थिक अनियमितता गरेको, संगठन सञ्चालन प्रभावकारी नभएको तथा विपक्षी दलसँग सहकार्य गरेको जस्ता आरोप उनीमाथि लगाइएका थिए ।
बारा जिल्लाबाट निर्वाचित चार जना सांसदले नै स्वर्णकारविरुद्ध औपचारिक उजुरी दिएका थिए ।
उजुरीपछि पार्टीले उनलाई पदबाट हटाउँदै बारा जिल्ला समिति नै भंग गरेको छ । साथै, नयाँ जिल्ला समिति गठनका लागि केन्द्रबाट प्रतिनिधि खटाइएको पार्टी स्रोतले जनाएको छ ।
यसबीच, चन्दन स्वर्णकारले भने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई कुनै निष्पक्ष छानबिन बिना नै हटाइएको दाबी गरेका छन् । उनले निर्णय सांसदहरूको दबाबमा गरिएको आरोपसमेत लगाएका छन् ।
स्वर्णकारका अनुसार अधिवेशनअघि नै आफूलाई हटाएर पार्टीभित्र सम्भावित पुनः चयन रोक्ने प्रयास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया