प्रधानमन्त्री बालेनको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

लोकपथ
231
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय तथा त्रास सिर्जना गर्ने र अमर्यादित भाषा प्रयोग गरेका थिए ।

यस घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । सार्वजनिक अडियोमा खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको सुनिएको थियो ।

अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले खड्कालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?