मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइँदै वटसावित्री पर्व

लोकपथ
42
Shares

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) मनाइरहेका छन् । 

प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिबार बिहानैदेखि विभिन्न स्थानमा रहेका बरको रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको छ । 

मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतीक मानिने यस पर्वमा महिलाहरू नयाँ वस्त्र तथा श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी हुने गर्दछन् । 

विशेष गरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप विशेष रहने गर्दछ । नववधुहरूका लागि यस अवसरमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै लुगा कपडा र अन्य उपहार (पाहुर) पठाउने परम्परा रहेको छ । 

हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि पवित्र र पूजनीय मान्ने गर्दछन् । वटसावित्रीका दिन व्रतालु महिलाहरूले बरको रूखमा सुतीको काँचो धागो बेरेर पूजा गर्ने र यस पर्वको पौराणिक कथा श्रवण गर्ने प्रचलन छ । 

यस पर्वलाई नारीत्वको रक्षा र सन्तान प्राप्तिमा सहायक सिद्ध हुने विश्वासका साथ लिइने गरिन्छ । पौराणिक मान्यताअनुसार सावित्रीले आफ्नो सतीत्व र घोर तपस्याको बलले मृत्युका देवता यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याउन सफल भएकी थिइन् । 

सोही ऐतिहासिक र आध्यात्मिक घटनाको स्मरणमा परापूर्व कालदेखि नै मिथिलाञ्चलमा यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?