मुक्कुमलुङ केबलकार विवाद : संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा

लोकपथ
0
Shares

काठमाडौं । मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको आरोप लगाउँदै आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानुनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ क्षेत्र अतिक्रमण गरी केबलकार निर्माण अघि बढाइएको आरोप लगाए ।

उनले सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेकै अवस्थामा पनि निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन घोषणा गरिएको बताए ।

समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ३० गते काठमाडौं, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन गरिनेछ ।

त्यस्तै, जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने समितिले जनाएको छ । आन्दोलनका कार्यक्रमहरू कोशी प्रदेशमा केन्द्रित हुने पनि बताइएको छ ।

थेगिमले आन्दोलनका कार्यक्रमहरूमा सहभागिताका लागि सबैलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?