काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गर्दै सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।
प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धतामाथि आशंका व्यक्त गरिरहेका बेला उपनेता पराजुलीले सरकार जनतासँग गरेको प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी गरे ।
उनले निर्वाचनका क्रममा पार्टीले सार्वजनिक गरेको वाचा पत्रअनुसार सुशासन कायम गर्ने काम सुरु भइसकेको उल्लेख गर्दै राज्यका निकायलाई दलीय प्रभावबाट मुक्त बनाउने अभियान सञ्चालन भइरहेको बताए ।
मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रलाई राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने थलो बनाउने अभ्यास अब स्वीकार्य नहुने स्पष्ट पारे । उनले नयाँ पुस्ताले राष्ट्र निर्माण गर्न सक्षम नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली चाहेको भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रमा रहेको दलीयकरण हटाउने लक्ष्य लिएको बताए ।
पराजुलीले सरकार सुशासन, सेवा प्रवाह र सक्षम प्रशासन निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै राज्य संयन्त्रलाई निष्पक्ष र जनउत्तरदायी बनाउने दिशामा काम भइरहेको बताए ।
उनले पाँचबुँदे करारनामाको पहिलो प्राथमिकता नै सुशासन रहेको स्मरण गराउँदै वर्तमान व्यवस्थाभित्रै रहेर संसदीय अभ्यासलाई थप उन्नत बनाउने सरकारको प्रयास जारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया