अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँ : अर्थमन्त्री वाग्ले

लोकपथ
70
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्री पद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताएका छन् । 

मंगलबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गरेको करिब ३० दिनमै आफूले ३ सय वटा जति निर्णय गरिसकेको जानकारी दिए  । 

व्यस्त कार्यतालिकाका बिच पनि सांसदहरूका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले छोटो समय भए पनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताए  । 

अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको उल्लेख  गरे । 

अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्रीको कुर्सीमा बसिसकेपछि सानातिना कुराहरूले गुनासो गर्ने ठाउँ रहँदैन ।  लगभग म ३० दिनमा ३०० वटा निर्णय जति मैले गरेको रहेछु । व्यस्त समयका बिच पनि सांसदहरूलाई सकेसम्म मैले चाहे जति समय दिन सकेको छैन । यद्यपि छोटो उभिएरै भए पनि मैले कुरा गर्ने चाहिँ तपाईँहरू धेरैलाई थाहा नै छ । २ मिनेट ३ मिनेट भए पनि तपाईँहरूको कुरा सुन्ने मेरो इमानदार प्रयास रहिआएको छ  र त्यसो गर्नका लागि बाहिरी खादा, माला, समारोह, उद्घाटन इधर उधर लगभग बन्द भएको छ । जहाँ जहाँ मलाई देख्नुभएको छ, त्यो टार्नै नसकेर, जानै पर्ने भएर र केही एकदमै चर्चित विदेशी वक्ताहरू पनि आएको ठाउँमा मेरो पुरानो पहिचानका हिसाबले पनि कर्टसीका लागि १/२ ठाउँमा गएको छु । नभए मन्त्रालयमै कैद भएर १२, १४, १६ घण्टासम्म हामी काम गरिरहेका छौँ र यहाँहरूले केही सद्भाव राखेर सुझावहरू पनि दिईराख्नुभएको छ । एउटा चाहिँ जनरल गुडविल पनि मैले पाएको छु ।’

अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै उपस्थित हुने गरेको उनको भनाइ थिए ।  उनले अहिले आफू अधिकांश समय मन्त्रालयमै रहेर काम गरिरहेको उल्लेख गर्दै सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?