सडक सुरक्षामा जनशक्ति होइन, प्रविधिमा लगानी बढाउनुपर्छ : गोपाल शर्मा

लोकपथ
21
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले मुलुकको सडक सुरक्षा सुधार र दुर्घटना न्युनिकरणका लागि जनशक्ति बढाउनेभन्दा प्रविधिमा आधारित निगरानी प्रणालीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वाधार विकास समितिको बैठकमा मंगलबार बोल्दै उनले ग्रामीण सडकको कमजोर अवस्था, फितलो उद्धार प्रणाली र विभेदकारी यातायात नीतिका कारण सडक दुर्घटना बढिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद शर्माले ग्रामीण सडक सञ्जाललाई केन्द्र सरकारले उपेक्षा गर्दा ठूला दुर्घटना भइरहेको आरोप लगाए । स्थानीय तहका सडक कुन निकायको मातहत रहने भन्ने स्पष्टता नहुँदा ती सडकहरू बेवारिसे अवस्थामा पुगेको उनको भनाइ थियो ।

रोल्पामा भएको पछिल्लो बस दुर्घटनामा २० जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै उनले उद्धार व्यवस्थापन प्रभावकारी नभएको टिप्पणी गरे । पूर्वप्रधानमन्त्रीले समेत सम्पर्क गर्न खोज्दा सम्बन्धित निकायले फोन नउठाउनु र घटनाको तीन दिनपछि मात्र समवेदना व्यक्त गर्नु दुःखद भएको उनले बताए ।

सडक सुरक्षामा ट्राफिक प्रहरीको भौतिक उपस्थितिले मात्रै नियमन सम्भव नहुने भन्दै उनले अस्ट्रेलियाको अनुभव सुनाए । त्यहाँ सडकमा प्रहरी नदेखिए पनि प्रविधिमार्फत प्रभावकारी निगरानी हुने व्यवस्था रहेको उल्लेख गर्दै नेपालले पनि त्यस्तै प्रणाली अपनाउनुपर्ने सुझाव दिए ।

उनले भने, ‘ट्राफिक प्रहरी देखुन्जेल नियम पालना गर्ने र अलि पर पुगेपछि क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति कायमै छ। त्यसैले जनशक्ति बढाउनुभन्दा जीपीएस र प्रविधिमा आधारित मनिटरिङ प्रणालीमा लगानी गर्न आवश्यक छ ।’

सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यात्रामा लगाइएको प्रतिबन्धप्रति पनि आपत्ति जनाउँदै यसलाई विभेदकारी व्यवस्था भने । उनका अनुसार सुगम क्षेत्रमा चौबीसै घण्टा सडक खुला रहने तर कर्णालीमा राति यात्रा रोक्नु उचित होइन ।

उनले प्रतिबन्धभन्दा पनि रात्रिकालीन यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उपाय खोज्न सरकारलाई आग्रह गरे । साथै केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सडक पूर्वाधार तथा व्यवस्थापनमा समन्वय अपरिहार्य रहेको उनले बताए ।

यसैबीच, पूर्वाधार विकास समितिले पनि सडक सुरक्षा, दुर्घटना व्यवस्थापन र यातायात नीतिमा सुधारका लागि थप छलफल गर्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?