काठमाडौं । काठमाडौंको बागमती किनारको त्यो भीडभाड, जहाँ कहिल्यै ननिदाउने शहरको बीचमा हजारौं सपनाहरू टिनको छानोमुनी बस्थे ।
तर आज त्यही ठाउँमा डोजरको आवाजपछि बाँकी छ धुलो, भग्नावशेष र बालबालिकाको टुक्रिएको बालापन । त्यही भग्नावशेष अगाडि उभिएका छन् प्रशान्त मिजार । उनको आँखामा आँसु छ, स्वरमा पीडा छ, र मनमा एउटा प्रश्न अब हामी अब कहाँ जाने ?
प्रशान्त भन्छन्, ‘अहिले बालेन सरकारले राखेको होल्डिङ्ग सेल्टरमा बसिरहेको छु । अस्ती पानी परेको बेला टेन्टभित्र पानी छिरेको थियो । धेरै नराम्रो लागेको छ । यस्तो राम्रो थापाथलीमा भएको घर भत्काएर सानो टेन्टमा बस्नुपर्दा धेरै दुख लागेको छ ।’
उनले आफ्नो घर भएको ठाँउतर्फ हेर्दै फेरि कुरा थप्छन्, ‘बाबा ममीले धेरै दुख गरेर बनाएको घर थियो । डोजरले सबै सम्याइदियो । भत्केको दिनदेखि आएको थिइनँ, आज हेर्न मन लागेर आएको हु ।’ त्यो घर केवल टिन र बाँसको संरचना थिएन । त्यो उनको बाल्यकाल थियो । त्यहाँ उनका साथीहरू थिए । त्यो उनको स्कुल जाने बाटो थियो ।
प्रशान्त भन्छन्, ‘पहिला विजेश्वरी स्कुलमा पढ्थे । तर अहिले त्यो स्कुल छोड्नुपर्ने भयो । अब गाउँ जानुपर्छ, त्यतैको स्कुलमा पढ्नुपर्छ । पढाइ पनि धेरै छुटिसक्यो । साथीहरू धेरै छुटिसके । अहिले यी दुई जना मात्र छन् । साथीहरूलाई धेरै सम्झिरहेको छु ।’

उनले बोल्दा छेउमा उभिएका दुई साथी चुपचाप उनलाई हेरिरहेका थिए । सायद उनीहरूलाई पनि थाहा छैन अब उनीहरूको भविष्य कुन गल्लीमा हराउने हो । काठमाडौं उपत्यकामा सुकुमबासी समस्या नयाँ होइन । सरकारी तथ्यांकअनुसार उपत्यकाभर हजारौं परिवार नदीकिनार, सार्वजनिक जग्गा र खाली स्थानमा वर्षौंदेखि बस्दै आएका छन् । २०४६ सालपछि तीव्र बसाइँसराइसँगै काठमाडौंमा अव्यवस्थित बस्तीहरू बढ्दै गए । बागमती, विष्णुमती, मनोहरा किनारमा बसोबास गर्ने धेरै परिवार मजदुरी, रिक्सा चलाउने, निर्माण श्रमिक, घरेलु काम र साना व्यापार गरेर जीवन धानिरहेका थिए ।
थापाथली सुकुमबासी बस्तीहरुभित्र धेरै सपनाहरु थियो । तर केही घण्टामै डोजरले ती सपना माटोमा मिसाइदियो । प्रशान्तको परिवार अहिले अलपत्र छन् । प्रशान्त गुनासो गर्दै भन्छन्, ‘यहाँ कोठा पाइरहेको छैन । सारेर लगेको सामान दिदीको कोठामा राखिएको छ । ममी बाबाको पनि काम छुट्यो । सरकारको घर भत्किँदा उनीहरूलाई जति नराम्रो लाग्थ्यो, हामीलाई पनि त्यति नै नराम्रो लागेको छ ।’
त्यो बोल्दा उनी फेरि एकपटक भत्किएको घरतर्फ फर्केर हेर्छन् । सायद त्यो घर अब छैन । तर त्यहाँ अझै उनका सम्झनाहरू उभिएका छन् ।
प्रशान्तले सरकारलाई प्रश्न गर्दै भन्छन्, ‘हाम्रो आफ्नै जग्गा नभएको कहाँ जाम ? सरकारले धेरै छिटो गर्यो । म्याद दिएको भए हामी आफैं सथ्र्यौं । दुई दिनमै भत्काइदियो । धेरै मन दुखेको छ ।’ काठमाडौं महानगरपालिकाले नदी अतिक्रमण हटाउने अभियानलाई कानुनी शासन र शहर व्यवस्थापन को कदम भनेको छ । तर आलोचकहरू भन्छन्,‘व्यवस्थापन बिना हटाइको हजारौं परिवारलाई थप असुरक्षित बनाएको छ ।’
प्रशान्त अहिले बसिरहेको होल्डिङ्ग सेल्टरको अवस्था पनि सहज छैन । उनको भनाइ अनुसार त्यहाँ फोहोर छ, खाना दिउँसो र राति मात्रै दिने गरिन्छ । खाजा पनि छैन । प्रशान्तका अनुसार, ‘सरकारले दुई महिना राख्ने भन्नुभएको छ, तर सक्नुहुन्न । काठमाडौंभर यति धेरै सुकुमबासी छन्, सरकारसँग त्यति ठाउँ छैन ।’
सरकारसँग प्रशान्तको एउटै मात्र आग्रह छ, ‘हामीलाई छिटोभन्दा छिटो व्यवस्थापन गरिदियोस् । देशको नागरिकलाई यसरी दुख दिनु भनेको देशलाई दुख दिनु हो । अहिले हामी आन्दोलनमा उत्रेका छैनौं । तर यसरी नै दुख दिइराख्नुभयो भने जनता बेबस भएर आन्दोलनमा उत्रिन्छन् । अनि फेरि कति घाइते हुन्छन्, कतिको मृत्यु हुन्छ । बेलैमा सरकारले सही कदम लियो भने सबैको हित हुन्छ ।’
त्यो बोल्दा उनी फेरि एकपटक भत्किएको घरतर्फ फर्केर हेर्छन् । सायद त्यो घर अब छैन । तर त्यहाँ अझै उनका सम्झनाहरू उभिएका छन् । थापाथलीको किनारमा धुलो अझै उडिरहेको छ । र त्यो धुलोसँगै उडिरहेका छन् प्रशान्त जस्ता सयौं बालबालिकाका अधुरा सपना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया