स्मार्ट टेलिकम प्रकरणमा संलग्नता पुष्टि भए राजनीति त्याग्छु : सांसद खरेल

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकम घोटाला प्रकरणसँग जोडेर प्रकाशित गरिएका समाचारप्रति कडा आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खरेलले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिन तयार रहेको घोषणा गरे ।

आफूलाई जोडेर प्रकाशित समाचार निरर्थक, भ्रामक र प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यले आएको दाबी गर्दै उनले त्यसप्रति खेद र भर्त्सना गरे । उनले सञ्चारमन्त्रीका रूपमा कार्यरत रहँदा स्मार्ट टेलिकमसँग एक पटक पनि बैठक नगरेको जिकिर समेत गरे ।

सांसद खरेलले भने, ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्विजरल्याण्ड भागेको भनेर लेखिएको समाचार पूर्ण रूपमा भ्रामक र घटिया छ । यसले मेरो मानसम्मान, राजनीतिक जीवन, संसद र मेरो पार्टीको समेत अपमान गरेको महसुस गरेको छु ।’

उनले थपे, ‘स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ वा एउटा फाइल मात्रै तलमाथि गरेको प्रमाणित भए पनि म सधैंका लागि राजनीतिक जीवनबाट विदा लिन तयार छु ।

सांसद खरेलले उक्त समाचार आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने गलत मनसायका साथ प्रकाशित गरिएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?