गीत–संगीत राष्ट्रिय पहिचान र एकताको बलियो आधार हो : राष्ट्रपति पौडेल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली गीत–संगीत राष्ट्रिय पहिचान, साझा सम्पत्ति र राष्ट्रिय एकताको बलियो आधार भएको  बताएका छन्  । 

नातिकाजी स्मृति समाजद्वारा आयोजित ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान अर्पण समारोह’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला र संस्कृतिले नै देशलाई भावनात्मक रूपमा जोड्ने उल्लेख  गरेका हुन् । 

स्वर्गीय नातिकाजी श्रेष्ठको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली संगीतको विकासमा उनको भूमिका अनुकरणीय रहेको बताए । 

नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउनुका साथै नेपाली सैनिक संगीतको गौरव समेत बढाएको उनको भनाइ छ । 

राष्ट्रपति पौडेलले नेपाली संगीतको उत्थानका लागि परम्परा र आधुनिकताबिच सन्तुलन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए । परम्परागत धुन र शैलीलाई जोगाउँदै नवीन प्रविधिको प्रयोगमार्फत नयाँ सिर्जना गर्नु वर्तमान पुस्ताका लागि चुनौती र अवसर दुवै रहेको उनले उल्लेख गरे । 

उनले भने, ‘नेपाली लोक भाकालाई पछ्याउँदै आधुनिक गीत–संगीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अतुलनीय छ । उहाँका सिर्जनामा पाइने चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाले उहाँलाई संगीतप्रेमीहरूका माझ सधैँ अमर बनाइराख्नेछ । साहित्य, कला र संगीतले समाजमा आपसी प्रेम, मित्रता र भ्रातृत्व अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउँछन् । कलाकार र उनीहरूका सिर्जना राष्ट्रका अमूल्य निधि हुन् ।श्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीत–संगीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग पुर्‍याउनुपर्छ ।’

नेपालको बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतालाई एकताको सूत्रमा बाँध्न संगीतको शक्ति अपार रहेको बताए । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राज्यले सर्जकहरूको सम्मान र हितमा कन्जुस्याइँ गर्न नहुने धारणा पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?