सरकारको एउटा सूचनाले च्यासलबाट एमालेको केन्द्रीय कार्यालय हट्दै

लोकपथ
567
Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय पनि अब खाली गर्नुपर्ने भएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको संरचना खाली गर्न भन्दै सूचना प्रकाशित गरेसँगै च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको एमाले पार्टी कार्यालय खाली गराउनुपर्ने भएको हो । 

‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को दफा २१ को उपदफा (२) बमोजिम भोगाधिकार प्राप्त भएको र हालसम्म लिजमा परिणत नगरेको जग्गा तत्काल खाली गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

सूचनामा भनिएको छ, ‘मिति २०७३–२–३१ र मिति २०७४–०१–२१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागबाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको सर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न ।’

एमालेले मन्त्रिपरिषद्बाट स्वीकृत गराएर तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा रहेको १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, सो जग्गा लिजमा परिणत गरिएको छैन ।

२०७२ सालको ‘गोरखा भूकम्प’ बाट बल्खुस्थित एमाले केन्द्रीय कार्यालय भवन भत्केपछि एमालेले धुम्बाराही, थापाथली हुँदै च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानलाई केन्द्रीय कार्यालयका रूपमा सञ्चालन गर्दै आएको छ । सो कार्यालयमा जेनजी आन्दोलनमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?