महेन्द्रनगर । सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको जनाएको छ ।
आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेसहरु स्थापना गरिएको निमित्त बाहिनी पति सुवेदीको भनाइ छ ।
कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाउँपालिका–५, खानी डाँडा गरी दुई स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, टासी, बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाच र बैतडीको सदरमुकाम गरी कुल आठ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरेको मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा ११ गोताखोर र २७५ विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विपद् उद्धारको काममा प्रभावकारी परिचालनका लागि समानुपातिक रूपमा सबै जिल्लामा तैनाथ गरिएको निमित्त बाहिनी पति सुवेदीले बताए । हालै मात्र भएका पानीजन्य विपद् उद्धारका लागि बाहिनीले दार्चुला, बझाङ, अछाम, डोटी र कञ्चनपुर जिल्लामा गोताखोर परिचालन गरी शव फेला पारेको थियो ।
सशस्त्र प्रहरी बल, नेपालले स्थानीय तहसँगको समन्वयमा समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रत्येक वडा तहसम्म सशस्त्र प्रहरी बलले विपद् सूचना प्राप्तिमा सहज होस् भन्ने हेतुले विपद् सूचक समूह स्थापना गरेको जनाएको छ । विपद्सम्बन्धी उद्धारका लागि सर्वसाधारणका लागि टोल फ्री नं ११४ प्रयोगमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया