सशस्त्र प्रहरी बल नेपाललाई प्रविधिमैत्री बनाउन IT Steering Committee गठन

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कार्यहरूलाई समयानुकूल, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ संस्थागत सुधारका महत्वपूर्ण पहलहरू अघि बढाएको छ ।

संगठनको कार्यादेशबमोजिमका विभिन्न काममा प्रविधि संयोजन तथा प्रविधिसम्बन्धी नीति निर्माण गर्ने कार्यमा मार्गनिर्देश गर्ने उद्देश्यका साथ IT Steering Committee को गठन गर्ने भएको छ । सो समितिले संगठनभित्र प्रयोग हुने सूचना प्रविधि प्रणालीहरूको प्राथमिकता निर्धारण, नीति तथा मापदण्डहरूको विकास तथा कार्यान्वयनको मार्गनिर्देशन गर्नेछ । यसबाट प्रविधि प्रयोगमा दोहोरोपन घट्ने, निर्णय प्रक्रिया छिटो र तथ्यमा आधारित हुने तथा डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन Border Interaction Team परिचालन गर्ने नयाँ नीति अवलम्बन गरिएको छ । मुख्य मुख्य सीमा नाकाहरूबाट सुरु गरिने यी टोलीहरूले सीमामा आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण गर्ने, स्थानीय समुदायसँग समन्वय बढाउने, सूचनाको आदान–प्रदानलाई व्यवस्थित गर्ने तथा सीमापार अपराधको निगरानी र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नेछन् । यसबाट सीमा क्षेत्रमा विश्वासको वातावरण निर्माण हुनुका साथै प्रारम्भिक चरणमै सुरक्षा चुनौतीहरूको पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सोमबार कार्यभार सम्हाल्दै दंगा नियन्त्रण तथा विपद् व्यवस्थापनको क्षेत्रमा आधुनिक स्रोत–साधनको व्यवस्था, प्रविधिमैत्री सीमा निगरानी तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय राखिने विषयहरूमा जोड दिए । सीमा सुरक्षाको जिम्मेवारीलाई केन्द्रमा राख्दै उनले आफ्नो कार्यकालमा BOP हरुको गुणात्मक विस्तार, Digital Border अवधारणाको कार्यान्वयन सुरुवात तथा Border Intelligence प्रणाली सुदृढीकृत गरिने विषयहरू प्राथमिकतामा रहने कुरा बताए ।

यसका साथै, सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयअन्तर्गत रहेको हालको नीति तथा योजना महाशाखालाई स्तरोन्नति गरी अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत गर्न “नीति अनुसन्धान तथा योजना निर्देशनालय” स्थापना गर्ने लक्ष्य लिइएको छ । यस निर्देशनालयले संगठनको नीति तथा योजना, तथ्यमा आधारित निर्णय, दीर्घकालीन सोच र परिणाममुखी कार्यान्वयनलाई प्रवद्र्धन गर्दै संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र सक्षम बनाउने विश्वास लिइएको छ ।
सोमबार सम्पन्न परामर्श समितिको नियमित बैठकले यी तीन विषय कार्यान्वयनको निर्णय गरेको प्रवक्ता विष्णुप्रसाद भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?