सम्पत्ति शुद्धीकरण विभागले छापा मारेपछि मुख्यमन्त्री बानियाँले भने– ‘मेरो चरित्र हत्या भयो’

लोकपथ
105
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् ।

विभागले छापा मारेपछि विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रमाथि आघात पुर्‍याइएको बताएका हुन् ।

उनले आफ्नो राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने अनुसन्धानलाई आफूले सकारात्मक रूपमा लिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ,’ ‘तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

राज्यको जुनसुकै निकायले अनुरोध गर्न पनि अनुसन्धानका लागि आफू भौतिक रूपमा उपस्थित हुने अवस्थामा छापा मारेको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो समर्थन र सहयोग रहने बताएका छन् ।

उनले आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई चिन्तित नहुन पनि आग्रह गरेका छन् ।

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?