काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।
सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर बहन गर्नुपर्ने उनले औंल्याएका छन् ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेस बिना सुशासन र पारदर्शिता मजबुत हुन नसक्ने धारणा राखेका छन् ।
साथै, उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा तथा सार्वजनिक हितप्रतिको उत्तरदायित्व उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए ।
समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैं महत्वपूर्ण रहने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मानसमेत व्यक्त गर्नु भएको छ ।
‘शान्तिपूर्ण भविष्यको निर्माणस् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया