नेपालमा लोकतन्त्र र मजदुर अधिकारमाथि चुनौती बढ्यो : आईटीएफ महासचिव कटन

लोकपथ
70
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले नेपालमा मजदुर अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामाथि चुनौती बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नेपाल भ्रमणका क्रममा उनले सरकारका पछिल्ला निर्णय र कार्यशैलीले दशकौँको लोकतान्त्रिक उपलब्धि तथा संविधानमाथि नै प्रश्न उठाएको बताएका हुन् ।

कटनले ट्रेड युनियनहरूलाई कमजोर बनाउने वा एउटै मात्र युनियन रहने अवधारणातर्फ सरकार उन्मुख भएको संकेतप्रति आपत्ति जनाउँदै मजदुरको स्वतन्त्र रूपमा संगठन खोल्ने अधिकारको सम्मान हुनुपर्ने बताए । 

उनले यस्तो प्रयासले दशकौँदेखि मजदुर आन्दोलनले पुर्‍याएको योगदानको अवमूल्यन हुने उल्लेख गर्दै सरकारलाई आफ्नो धारणा पुनर्विचार गर्न आग्रह गरे ।

विश्वभर करिब १ करोड ७० लाख यातायात मजदुरको प्रतिनिधित्व गर्ने आईटीएफका महासचिव कटनले नेपालको नयाँ सरकारले अघि बढाउन खोजेको कार्यविधिले ट्रेड युनियनहरूको स्वतन्त्र अस्तित्वमाथि प्रहार गरेको टिप्पणी गरे ।

उनले नेपाललाई उदीयमान अर्थतन्त्र र मेहनती जनशक्ति भएको देशका रूपमा वर्णन गर्दै अदालत, संसद् र प्रशासनप्रति सरकारको अविश्वासपूर्ण दृष्टिकोणले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको बताए ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) र ग्लोबल काउन्सिल अफ युनियनको ऐक्यबद्धता सन्देश ल्याएको उल्लेख गर्दै कटनले लोकतन्त्रको संरक्षणका लागि स्वतन्त्र ट्रेड युनियन अपरिहार्य रहेको स्पष्ट पारे ।

उनले नेपालमा थप लगानी र पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता, निष्पक्षता र संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

रोजगारी क्षेत्रमा बढ्दो ‘सब–कन्ट्रयाक्टिङ’ मोडलले मजदुरको लागत घटाए पनि यसले दीर्घकालीन सामाजिक विकासमा योगदान नदिने उनको भनाइ थियो । उनले दिगो भविष्यका लागि धेरैभन्दा धेरै मजदुरलाई सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक र सुरक्षित कार्यस्थलको दायराभित्र ल्याउनुपर्नेमा जोड दिए ।

खाडी मुलुकहरूमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे बोल्दै कटनले कतार, साउदी अरब लगायतका देशमा रहेका यातायात मजदुरको अधिकार सुनिश्चित गर्न आईटीएफ सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।

नेपालका प्रमुख मजदुर संगठनहरू जेटीयूसीसी, जिफन्ट, एनटीयूसी र एन्टफ वर्तमान परिस्थितिमा अन्योलमा रहेको उल्लेख गर्दै उनले मजदुर नेतृत्वलाई विचलित नहुन सुझाव दिए ।

उनले सरकार परिवर्तनका बेला ट्रेड युनियनहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचनाको प्रतिवाद गर्दै मजदुरको आवाजलाई एकीकृत गर्नुपर्ने धारणा राखे ।

‘युनियनहरूले सरकारसँग संवादको टेबुलमा बसेर समाधान खोज्नुपर्छ, अहिलेको आवश्यकता त्यही हो,’ कटनले भने ।

उनले नेपालको युवा शक्तिलाई संयुक्त राष्ट्रसंघका मूल्यमान्यता र अन्तर्राष्ट्रिय सहकार्यको दिशामा अघि बढाउनुपर्नेमा जोड दिँदै मजदुर आन्दोलन सरकारसँग रचनात्मक संवादका लागि सधैँ तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?