छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौ‌ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन् । 

सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन जना बालबालिका समेत रहेका छन् ।

सुनसरीको दुहबी नगरपालिका-२ तुथाहामा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। प्र.१-०२-००२ ख ११११ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका अन्दाजी ५० वर्षीय पुरुषको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । 

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-४ मा ना.५ त ३११३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । साइकलमा सवार रहेकी उनलाई ट्याक्टरले ठक्कर दिएको थियो भने दुर्घटनामा घाइते भएका अर्का एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका-२४ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया पैदलयात्री दहउरा देवी महतोको ज्यान गएको छ । म.प्र.०३-०२६ प ००८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यता धनुषाको हंसपुर नगरपालिका-२ बक्चौडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १४ वर्षीय किशोर कृष्ण मण्डलको मृत्यु भएको छ । मोटरसाइकल चालक रहेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि दुर्घटनाका कारण जनधनको क्षति भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-९ सुधामेमा बोलेरोको ठक्करबाट ६ वर्षीया बालिका सुस्मा आलेको मृत्यु भएको छ । बाटो काट्ने क्रममा ग.१ ज ८७१९ नम्बरको बोलेरोले ठक्कर दिँदा घाइते भएकी उनको पोखराको फिस्टेल अस्पतालमा मृत्यु भएको हो । 

नवलपरासी पूर्वको कावासोतीमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा ३६ वर्षीया निशा कुमालको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी निशाको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको हो ।

कञ्चनपुर र बर्दियामा भएका दुर्घटनामा पनि दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । कञ्चनपुरको दोधारा चाँदनीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका-११ मा गाडीको ठक्करबाट ८ वर्षीया नाजिया साइको मृत्यु भएको छ । नेपालगञ्जतर्फ आउँदै गरेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । 

यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?