गल्फ केवल मनोरञ्जन होइन, अनुशासन र इमानदारीको पाठशाला हो : कामु प्रधानन्यायाधीश मल्ल

लोकपथ
0
Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयम सिकाउने महत्वपूर्ण माध्यम भएको बताएकी छन् ।

काठमाडौंमा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदबाट सिकिने इमानदारीलाई व्यावसायिक तथा सार्वजनिक जीवनमा समेत लागू गर्नुपर्नेमा जोड दिइन् ।

मल्लले उक्त कार्यक्रमलाई आर्थिक समृद्धि र स्वास्थ्यमार्फत प्राप्त हुने खुशी को अनुपम संयोजनका रूपमा वर्णन गरिन् । सुरुवाती समयमा गल्फलाई कम शारीरिक अभ्यास हुने खेलका रूपमा बुझे पनि पछि यसको गहिराइ र महत्व बुझ्दै गएको उनले उल्लेख गरिन् ।

न्यायिक क्षेत्र र गल्फको सम्बन्धबारे बोल्दै उनले खेलमैदानमा देखिने निष्पक्षताको अभ्यास प्रशंसनीय रहेको बताइन् । गल्फको हरियो वातावरणले मानसिक स्फूर्ति दिने उल्लेख गर्दै उनले यस खेलमा हुने स्वस्थ प्रतिस्पर्धा र संयमता अनुकरणीय भएको धारणा राखिन् ।

उनले भनिन्, ‘गल्फमा केवल शारीरिक शक्ति मात्र होइन, सीप र रणनीतिको ठूलो भूमिका हुन्छ। हामी अदालतमा निष्पक्षताको कुरा गर्छौं, तर गल्फ कोर्समा त्यसको व्यवहारिक अभ्यास अझ स्पष्ट रूपमा देखिन्छ ।’

मल्लका अनुसार गल्तीलाई लुकाउने नभई स्वीकार गरी सुधार गर्ने गल्फको संस्कार समाज र राष्ट्रका विभिन्न क्षेत्रमा पनि आवश्यक छ ।

उनले खेलाडीले स्वयं पेनाल्टी स्वीकार गर्नु इमानदारीको उत्कृष्ट उदाहरण भएको बताइन् ।

त्यसैगरी उनले समाजमा नकारात्मक टिप्पणीभन्दा रचनात्मक आलोचनालाई स्वीकार गर्ने संस्कृतिको विकास आवश्यक रहेको पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?