नेपाली अर्थतन्त्र तीनवटा ‘पासो’ मा परेको छ : उपाध्यक्ष भट्ट

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले नेपाली अर्थतन्त्र अहिले तीनवटा गम्भीर ‘पासो’मा फसेको बताएका छन् । निजी क्षेत्र ऋणको अत्यधिक भार र अनुत्पादक सम्पत्तिको दबाबमा रहेको तथा सरकार दायित्व व्यवस्थापनको चुनौतीमा परेको उनले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गरे ।

उनका अनुसार निजी क्षेत्र ‘अनसस्टेनेबल डेट ट्रयाप’ मा फसेको छ । बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भएको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९२ प्रतिशत बराबर पुगेको भन्दै उनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणसमेत जोड्दा यो अनुपात ११० प्रतिशत हाराहारी पुग्ने बताए ।

‘यस्तो ऋणको अवस्था दीगो छैन,‘उनले भने, ‘निजी क्षेत्र अहिले अत्यधिक ऋणको दबाबमा छ ।’

उनले दोस्रो चुनौतीका रूपमा निजी क्षेत्र ‘अनम्यानेजेबल अनप्रोडक्टिभ एसेट ट्रयाप’ मा फसेको बताए । उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी हुन नसक्दा आर्थिक गतिविधिले गति लिन नसकेको उनको भनाइ थियो ।

तेस्रो चुनौती सरकार स्वयं ‘अनबियरेबल अब्लिगेटरी ट्रयाप’ मा रहेको उनले बताए । सामाजिक सुरक्षा खर्च, ऋणको साँवा–ब्याज भुक्तानी र बढ्दो दायित्वले सरकारी व्यय व्यवस्थापन कठिन बन्दै गएको उनको भनाइ थियो ।

डा। भट्टले अहिलेको अवस्थाबाट बाहिर निस्कन सरकार र निजी क्षेत्रबीच साझा सहकार्य आवश्यक रहेको बताए । ‘उच्च आर्थिक वृद्धि हासिल गर्न दिगो आर्थिक वृद्धिलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्छ,‘उनले भने ।

उनले विगतका आर्थिक सुधारका चरण स्मरण गर्दै २०४१ सालमा ल्याइएको बजेट र २०४८ सालपछिका नीतिगत परिवर्तनले औद्योगिक क्षेत्रलाई गति दिएको बताए । त्यस्तै, २०७३र७४ पछिको आर्थिक वृद्धि पूर्वाधार विस्तार र वित्तीय संघीयताको कार्यान्वयनबाट प्रेरित भएको उनको भनाइ थियो ।

अबको आर्थिक वृद्धिको आधार नवप्रवर्तन र डिजिटलीकरण हुने उल्लेख गर्दै उनले नेपाल औद्योगिक विकासको नयाँ चरणतर्फ अघि बढिरहेको बताए ।

अर्थतन्त्र व्यवस्थापन थप जटिल बन्दै गएको भन्दै डा.भट्टले आगामी नीति सन्तुलित र मध्यमार्गी हुनुपर्नेमा जोड दिए । अत्यधिक मुद्रा विस्तार वा कर नीतिमा अस्थिर परिवर्तनले जोखिम निम्त्याउन सक्ने भएकाले वित्तीय सन्तुलन कायम राख्दै नीति निर्माण गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?