बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री खनाल

लोकपथ
42
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्वलाई शान्तिको सन्देश दिएको बताएका छन् ।

२५७०औँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले आज तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशले मानव जीवनलाई उज्यालो बनाउने विश्वास व्यक्त गरे ।

उनले शान्तिका प्रतीक सिद्धार्थ गौतमको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्दै बुद्धका विचार आजको विश्वका लागि अझ सान्दर्भिक बनेको बताए ।

कार्यक्रममा सहभागीहरूले बुद्धका उपदेशलाई आत्मसात गर्दै समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज नेपालसहित विभिन्न देशमा पूजा, आराधना, प्रवचन तथा विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रहिआएको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाइने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस अवसरमा बौद्ध धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?