प्रविधि न्यायको साधन हो, विकल्प होइन : कायममुकायम प्रधानन्यायाधीश मल्ल

लोकपथ
0
Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) न्याय सम्पादन र न्यायमा पहुँच विस्तारका लागि प्रभावकारी साधन हुनसक्ने भए पनि यो कहिल्यै न्यायको विकल्प बन्न नसक्ने बताएकी छन् ।

युवा कानून व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना, विवेक र उत्तरदायित्वलाई बिर्सन नहुनेमा जोड दिइन् ।

उनका अनुसार एआईले न्यायिक प्रणालीको कार्यक्षमता बढाउन, अनुसन्धानलाई छिटो बनाउन र प्रणालीलाई थकित हुन नदिने भूमिका खेल्न सक्छ । विशेषगरी कानूनी अनुसन्धान, नजिरहरूको खोजी तथा फैसला लेखनका क्रममा एआईले प्रारम्भिक ढाँचा (फ्रेमवर्क) तयार गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने उनले उल्लेख गरिन् ।

मल्लले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपन हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताइन् ।

तर, उनले प्रविधिसँगै जोखिमहरू पनि बढ्ने भन्दै सचेत रहन आग्रह गरिन् । विशेषगरी डिजिटल विभाजन, एल्गोरिदममा हुन सक्ने पूर्वाग्रह (बायस), गोपनीयता र उत्तरदायित्वका विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।

उनले यूनेस्को र भारतले एआई प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरू उल्लेख गर्दै नेपालले पनि मानव केन्द्रित दृष्टिकोण, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताइन् ।

‘प्रविधि न्यायको साधन हो, विकल्प होइन । न्यायको आत्मा सदैव मानवीय हुन्छ,‘ उनले भनिन्, ‘एआईले अनुसन्धान र सूचना व्यवस्थापनमा क्रान्तिकारी भूमिका खेल्न सक्छ, तर न्यायको निर्णय मानव विवेकमै आधारित हुनुपर्छ ।’

उनले न्यायपालिकालाई प्रविधिमैत्री बनाउन युवा कानून व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सहकार्यका लागि न्यायपालिका खुला रहेको पनि स्पष्ट गरिन् ।

ढिलो न्यायप्रतिको जनगुनासो सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई अझ सुदृढ बनाउन सक्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?