काठमाडौं । गत चैत २२ गते नवलपरासीको देवचुली नगरपालिका १६ टाँडीकोटमा एक वृद्ध दम्पतीमाथि भएको लुटपाट र हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधबार पक्राउ गरेका सञ्जय विक नै वृद्ध दम्पतीमाथिको लुटपाट र हत्यामा संलग्न रहेको पाइएको हो ।
बिहीबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले चैत २२ गते नवलपरासीको देवचुली नगरपालिका १६ टाँडीकोटमा भएको ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसनिया थनेतको आक्रमण, लुटपाट र हत्यामा सञ्जय नै संलग्न रहेको पाइएको जानकारी दिएको हो ।
कार्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा सञ्जयको संलग्नता पाइएको जनाएको छ । प्रहरी स्रोतका अनुसार सञ्जयले उक्त अपराधमा आफ्नो संलग्नता रहेको समेत कबुल गरिसकेका छन् ।
सञ्जयले आफ्नो अपराध कबुल गरेको र प्रहरीको प्राविधिक विश्लेषणबाट सञ्जयले नै अपराध गराएको पुष्टि भएको कारण उनलाई बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको बताएको छ ।
भएको के थियो ?
गत चैत २२ गते टाँडीकोटमा रहेको आफ्नै घरमा बसिरहेका ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसनिया थनेतलाई घरेलु हतियारले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । वृद्ध दम्पतीमाथि गम्भीर आक्रमण गरी उनीहरूको साथमा भएको सुनका गरगहना र नगदसमेत लुटेर लगेका थिए । आक्रमणबाट घाइते भएका जीवनराम थनेतको उपचारको क्रममा मृत्यु भइसकेको छ भने उनकी पत्नी गुलाबसनिया थनेत हालसम्म पनि अचेत अवस्थामै उपचार भइरहेको छ ।

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा सञ्जयकै संलग्नता हुन सक्ने केही प्रमाण प्रहरीले फेला परेको थियो । घटनाको दिन सञ्जय सोही क्षेत्रमा देखिएको थियो भने घटनामा उनकै संलग्नता हुनसक्ने अन्य केही प्रमाणसमेत फेला परेको प्रहरीले जनाएको थियो । सञ्जयको हुलियाका आधारमा खोजी गर्दै जाँदा बागलुङको गलकोट स्थायी ठेगाना भएका सञ्जयलाई काठमाडौंको चाबहिलबाट बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
कार्यालयका डिएसपी अनिलकुमार घिमिरेको टोलीले सञ्जयको साथबाट ३ लाख रुपैयाँभन्दा बढी रकम फेला पारेको थियो । सञ्जयले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन् भने नवलपरासीको घटनामा समेत संलग्न हुनसक्ने भन्दै उनलाई नवलपरासी पठाइएको थियो ।
पहिले पनि बलात्कार, लुटपाट र हत्यामा संलग्न व्यक्ति थिए सञ्जय
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैशाख १५ गते मंगलबार चाबहिलबाट ३१ वर्षीय सञ्जयलाई पक्राउ गर्दा जेलबाट भागेका कैदीका रूपमा पक्राउ गरेकाे थियो । कास्की जिल्ला अदालतबाट जन्म कैदको फैसला सुनाइएका उनी जेनजी आन्दोलनको समयमा २०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका थिए ।
२०८० साल मंसिरको ५ गते साँझ तनहुँको भिमाद घर भई कास्कीको पोखरा महानगरपालिका ८, नागढुंगामा बस्ने ३९ वर्षीय सुकु विकको हत्या भएको थियो । पोखराको नागढुंगामा रहेको युनिक होटेलको कोठा नम्बर २०२ मा सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा रहेकी उनलाई उद्धार गरेर स्थानीय चरक अस्पतालमा लगिए पनि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको थियो ।
घटनाको अघिल्लो रात अर्थात् मंसिर ४ गते साँझ ७ बजेको समयमा सुकु विक र अर्का करिब ३० वर्षका युवक नागढुंगाको युनिक होटेलतर्फ गइरहेको नजिकैको सिसिटिभी फुटेजमा देखिएको थियो । होटेलमा भने सिसिटिभी थिएन । युवकले टोपी लगाएर आफ्नो अनुहार नै नचिन्ने गरी छोपेका थिए भने नर्थ फेस लेखेको निलो रङको ज्याकेट लगाएका थिए । होटेलमा पुग्दा युवकले आफ्नो नाम राजन गुरुङ भनी लेखाएका थिए ।
सुकुको बारेमा बुझ्दा उनी विगत २ वर्षदेखि पृथ्वीचोकमा रहेको शिला रेस्टुरेन्टमा काम गर्ने गरेको पत्ता लगायो । घटनाको अघिल्लो दिन नै साथीलाई भेट्न जान्छु भनेर निस्किएकी उनी युवकसँग युनिक होटेलमा पुगेकी थिइन् । तर उनको त्यहीँ बलात्कारपछि हत्या र लुटपाटसमेत भएको थियो । सुकुको साथमा रहेको सुनको सिक्री र आईफोनसमेत हत्याराले लगेका थिए ।
घटनाको अनुसन्धान गरेको प्रहरीले सुरुमा ६ जनालाई पक्राउ गरेको थियो । तर घटनामा संलग्नता नपाइएपछि उनीहरूलाई छाडिएको थियो ।
मंसिर ५ गते भएको घटना भए पनि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सकेको थिएन । सुकुले लगाएको सुनको सिक्री हराएको र मोबाइलसमेत लुटिएको कारण प्रहरीसँग यी दुई वस्तुको पिछा गर्नुबाहेक अन्य विकल्प थिएन । सुकुसँग नियमित कुराकानी हुने व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरे पनि कुनै क्लु पत्ता लागिरहेको थिएन । कास्की प्रहरीले आफ्नो क्षेत्रका सबै सुन पसलमा पुगेर शंकितको खोजीसमेत गरेको थियो । तर कुनै प्रमाण फेला पर्न सकेको थिएन ।
तर एकाएक घटनाको ८ महिनापछि चमत्कार भयो । सुकु विकको मोबाइल एकाएक यक्टिभ भयो । हत्याको समयमा सुकुसँग भएको आईफोन १३ प्रो म्याक्स मोबाइल चलेको पाइयो । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रहरीले सुकुको मोबाइल चलाउने महोत्तरीका राजेश बुढाथोकीलाई तत्कालै नियन्त्रणमा लियो । त्यसपछि राजेशसँग सोधपुछ गर्दा आफूले अर्कै व्यक्तिसँग ४० हजार ५ सय रुपैयाँमा मोबाइल किनेको भन्दै ती व्यक्तिको खोजीमा सघाए ।
त्यही आईफोनको क्लुबाट खोजी गर्दै जाँदा प्रहरीले नवलपुरको गैंडाकोट १२, हर्कपुरमा रहेको डेरा कोठाबाट बागलुङको गल्कोट नगरपालिका ९ मल्म स्थायी ठेगाना भएका ३१ वर्षीय सञ्जय विकलाई पक्राउ गर्यो । सञ्जयलाई पक्राउ गरी खानतलासी गर्दा उनको डेरा कोठाबाट घटनाको अघिल्लो दिन सुकुसँगै रहँदा लगाएको नर्थ फेस लेखिएको निलो रङको ज्याकेट, क्याप टोली, पोको मोबाइल र त्यहाँ सुकु विकको सम्पर्क नम्बर तथा कुराकानीको प्रमाण र केही स्कृनसट समेत फेला पर्यो । सञ्जयको मोबाइलको थप अनुसन्धान गर्दा स्कृनसट गरी राखिएको सुकुको फोटो तथा आईफोन समातेर खिचेको सञ्जयको फोटोसमेत फेला पर्यो । त्यसपछि थप अनुसन्धान गर्दा सुकुले लगाएको सुनको सिक्री र मुन्द्रासमेत सञ्जयले बिक्री गरिसकेको खुल्यो ।

त्यसपछि सञ्जयलाई कास्की ल्याएर थप अनुसन्धान गर्दा हत्याको समयमा सञ्जय कास्कीको पोखरा ७ घारीपाटनमा श्रीमती र छोरासहित डेरामा बस्ने गरेको पाइएको छ । हत्याको लगत्तै सञ्जय भने पोखरा छाडेर गैंडाकोटमा गएर बसेको पाइएको थियो ।
प्रहरीले आरोपितलाई सुकुलाई देख्ने र चिन्ने व्यक्तिहरू तथा होटेलका कर्मचारीलाई देखाउँदा हत्याको अघिल्लो दिन होटेलमा लैजाने व्यक्ति र सुकुसँगै रहेका व्यक्ति सञ्जय नै रहेको पुष्टि भएको थियो । त्यसपछि मात्रै सञ्जयले सुकुको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
वास्तवमा एक कमन ट्रेन्डमार्फत सञ्जय र सुकुको चिनजान भएको थियो । छोटो चिनजानमै उनीहरू नजिकिएका थिए र विवाहसमेतको कुराकानी भएको थियो । तर सुकुसँग रहेको सुनको सिक्री, मुन्द्रा तथा आईफोन १३ प्रो म्याक्सको लोभले गर्दा सञ्जयले एक रात बसिसकेपछि भोलिपल्ट होटेलकै कोठामा रहेको सिरानीले नाक, मुख थुनी घाँटी थिचेर हत्या गरेका थिए ।
सञ्जय थिए पेसेवर अपराधी
त्यसो त सञ्जयले अपराध गरेको पहिलोपटक थिएन । उनीमाथि २०७२ असारमै कास्कीमै भएको एक चोरीको घटनामा मुद्दा चलेको थियो । त्यस्तै २०७३ भदौ १ गते वडा प्रहरी कार्यालय बैदामले सञ्जयमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।
कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीका अनुसार सञ्जय यसअगाडि पनि विभिन्न अपराधमा संलग्न रहेको व्यक्ति हुन् । बागलुङमै भएको अर्को एक अपराधमा पनि संलग्न रहेको प्रहरीको आशंका रहेको छ । उनी पेशेवर अपराधी रहेको एसपी कार्कीले बताए ।
बुधबार पक्राउ परेका सञ्जयले बिहीबार नै नवलपरासीको घटनामा समेत आफ्नो संलग्नता स्वीकार गरिसकेको र थप अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया