स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

लोकपथ
133
Shares

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्न २०७ वटा पालिकाले इच्छासहित निवेदन दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता अघि सूचना जारी गर्दै स्थानीय तहबाट सेवा दिन इच्छुक पालिकालाई आवेदन माग गरेको थियो ।

मन्त्रालयका अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिकासहित २०७ पालिकाले सेवा सञ्चालनका लागि निवेदन दिएका छन् । तीमध्ये हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका, घोराही उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिका पनि रहेका छन् ।

मन्त्रालयले प्राप्त निवेदनहरूको अध्ययन सुरु गरेको जनाएको छ । पहिलो चरणमा केही पालिकालाई छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवा हस्तान्तरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पालिकाको छनोट गर्दा सेवाग्राहीको चाप, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानिनेछ । कम भिडभाड भएका र उच्च सेवा चाप रहेका दुवै प्रकारका पालिकालाई प्राथमिकतामा राखिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

यसैबीच, सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीहरूलाई स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले आवश्यक जनशक्ति व्यवस्थापन, प्राविधिक सहयोग तथा कर्मचारी तालिमको व्यवस्था गर्ने तयारी पनि गरेको छ । सबै तयारी एक साताभित्र पूरा गरी केही पालिकामा सेवा हस्तान्तरण सुरु गरिने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?