बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार हो : पर्यटनमन्त्री पौडेल

लोकपथ
28
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली माध्यम भएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले बुद्धले प्रतिपादन गरेको करुणा, सहअस्तित्व र नैतिक चेतनाको मार्ग आजको विश्वका लागि अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरे ।

उनले बुद्धको दर्शन व्यक्तिगत साधनाबाट सुरु भएर विश्व कल्याणसम्म पुग्ने पवित्र मार्ग भएको बताउँदै समाजमा शान्ति स्थापना गर्न करुणामय चेतनाको आवश्यकता रहेको धारणा राखे ।

मन्त्री पौडेलले भने, ‘बुद्धले सिकाउनु भएको करुणा निरपेक्ष प्रेम हो । यस्तो प्रेम, जुन जात, धर्म, भाषा, विचार वा सीमाभन्दा माथि उठेको हुन्छ । आजको विश्वमा शान्ति स्थापना गर्न शक्तिशाली हतियार होइन, करुणामय चेतनाको आवश्यकता छ ।

उनले व्यक्तिको मन शान्त भए परिवार, समाज हुँदै देश र विश्व नै शान्त बन्न सक्ने उल्लेख गर्दै बुद्धको शिक्षाले मानव सभ्यतालाई सकारात्मक दिशा दिने बताए ।

त्यस अवसरमा उनले सबैलाई सकारात्मक सोच, सहअस्तित्व र सामूहिक मंगलको भावना आत्मसात गर्दै शुभ चिन्तन, शुभकर्म र शुभ आचरणतर्फ अघि बढ्न आह्वान गरे ।

मन्त्री पौडेलले बुद्ध जयन्ती समारोहले समाजमा शान्ति, सद्भाव, करुणा र नैतिक चेतनाको ज्योति अझ प्रज्वलित गरिरहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?