युवा उद्यमी सचिन ढकालको आह्वान : ‘नेपालमै सम्भावना छ भन्ने विश्वास निर्माण गरौँ’

लोकपथ
14
Shares

काठमाडौं । विदेशमा अध्ययनका क्रममा आधुनिक प्रविधि र प्रणालीहरूको अनुभव सँगालेका युवा उद्यमी सचिन ढकालले नेपालमै सम्भावना सिर्जना गर्न सकिने विश्वासका साथ आफू स्वदेश फर्किएको बताएका छन् ।

हाल आइएमई समूहमार्फत हस्पिटालिटी र खेलकुद क्षेत्रमा सक्रिय ढकालले नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै जाँदा नीतिगत तथा संरचनागत समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको बताए ।

उनले नेपालमा मुख्य चुनौतीका रूपमा नीतिगत अस्पष्टता, कार्यान्वयनमा ढिलासुस्ती र निजी क्षेत्रप्रतिको दृष्टिकोण रहेको उल्लेख गरे । नयाँ पुस्ता केवल गुनासो गर्ने नभई समाधान खोज्ने दिशामा सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

ढकालले निजी क्षेत्र र सरकारबीचको सहकार्य, नीतिगत स्थिरता तथा नवप्रवर्तनमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए । उनले नेपालमै अवसर सिर्जना गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै युवाहरूलाई स्वदेश फर्कन प्रेरित गर्ने नीति आवश्यक रहेको धारणा राखे ।

उनले भने, ‘विदेशमा पढ्दा आधुनिक प्रविधि र प्रणालीहरू देखेँ । तर सधैं मेरो देशमा यी कुरा सम्भव छैनन् त भन्ने प्रश्नले पिरोलिरह्यो । त्यही प्रश्नको उत्तर खोज्न म नेपाल फर्किएँ ।’

ढकालले आफू आइएमई समूहमा रहेर हस्पिटालिटी र खेलकुद क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै लगानी विस्तारका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताए ।

उनका अनुसार निजी क्षेत्र र सरकारबीच सहकार्यको वातावरण निर्माण गर्दै नीतिगत स्थिरता कायम गर्न सके नेपालमा नवप्रवर्तन र लगानीको ठूलो सम्भावना रहेको छ ।

उद्यमी ढकालले निजी क्षेत्रका समस्याहरू पहिचान गरी समाधानमुखी भूमिका खेल्ने संस्थागत नेतृत्व आवश्यक रहेको पनि बताए । उनले विदेशमा रहेका नवप्रवर्तनशील नेपाली युवाहरूलाई स्वदेश फर्काउने पुलका रूपमा संस्थाहरूलाई विकास गर्नुपर्ने धारणा राखे ।

आगामी उद्योग वाणिज्य महासंघको नेतृत्वतर्फ संकेत गर्दै उनले आफ्नो उम्मेदवारी कुनै एक पदका लागि मात्र नभई नेपालका युवाहरूलाई अब नेपालमै सम्भव छ भन्ने सन्देश दिनका लागि रहेको बताए ।

ढकालले अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा समेट्दै समृद्ध नेपाल निर्माणका लागि साझा सहकार्यको आवश्यकता औँल्याए । उनले आफ्नो भिजनलाई विश्वासमा आधारित नयाँ दिशा र समृद्धिको नयाँ निकास का रूपमा प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?