काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले यसपटकको निर्वाचन विगतका निर्वाचनको तुलनामा ऐतिहासिक रूपमा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष भएको निष्कर्ष सार्वजनिक गरेको छ ।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा ईओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीले ३६ वटा राष्ट्रिय तथा तीन अन्तर्राष्ट्रिय संस्थाले तयार पारेका प्रतिवेदनले पनि निर्वाचन धाँधलीरहित र भयरहित भएको पुष्टि गरेको बताए ।
उनका अनुसार आफूले १२ जिल्लाका विभिन्न मतदान केन्द्रको प्रत्यक्ष अनुगमन गर्दा निर्वाचनको वातावरण संयमित, व्यवस्थित र उत्साहजनक पाएको अनुभव गरेका छन् ।
यद्यपि निर्वाचन प्रक्रिया सुधारोन्मुख भए पनि उम्मेदवारहरूको खर्च गर्ने प्रवृत्तिमा भने कमी नआएको उनले बताए ।
अध्यक्ष सुवेदीले निर्वाचन आयोगले निर्धारण गरेको खर्च सीमा अव्यावहारिक रहेको टिप्पणी गर्दै पर्यवेक्षणका क्रममा एउटै र्यालीमा ११७ वटा रिजर्भ गाडी, ५३ वटा अटो र एक हजार तीन सयभन्दा बढी मोटरसाइकल प्रयोग भएको तथ्य प्रस्तुत गरे ।
उनले निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न संविधान तथा कानूनमै संशोधन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘निर्वाचन आयोगले तोकेको ३० लाख रुपैयाँको सीमाले उम्मेदवारहरूको वास्तविक खर्च धान्ने अवस्था देखिँदैन । महिना दिनसम्म सयौँ कार्यकर्ता परिचालन, सवारी साधन व्यवस्थापन र इन्धन खर्चलाई हेर्दा वर्तमान कानूनी सीमा अपर्याप्त र अप्राविधिक देखिएको छ ।’
ईओसी नेपालले निर्वाचन खर्चसम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया