‘लाली बजार’ को प्रदर्शन रोकिएपछि सडकमा कलाकार र चलचित्रकर्मीहरु

लोकपथ
63
Shares

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित चलचित्र प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि निर्माण टिमसहित चलचित्रकर्मीहरूले प्रदर्शन गर्दै उच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । अदालतको आदेश सच्याउन माग गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई साहित्य र कलालाई दृश्यरूपमा प्रश्तुत गर्ने सशक्त माध्यम भएको भन्दै सरोकारवाला सबैले यो कुरा बुझ्न आवश्यक भएको बताए ।

उनले चलचित्र निर्माण संविधान र सेन्सर बोर्डको नीतिअनुसार गरिएको दाबी गर्दै सम्बन्धित समुदायसँग पटकपटक छलफल गरेर ‘सेल्फ सेन्सरसिप‘ अपनाइएको पनि स्पष्ट पारे ।

बस्नेतले मुद्दा दायर गर्ने पक्षलाई समेत सेन्सरअघि नै चलचित्र देखाइएको उल्लेख गर्दै अदालतले विषयको गम्भीरता अझ गहिरो रूपमा बुझ्नुपर्ने बताए ।

उनले भने, ‘फिल्म के हो भन्ने कुरा उहाँहरुले अझ गहन गरेर बुझिदिनुपर्‍यो । फिल्म भनेको एउटा मनोरञ्जनको साधन मात्र होइन । साहित्यकलालाई चित्रमा उतार्ने चिज पनि हो । हामीले ल्याउने कथा धेरैभन्दा धेरै मान्छेहरुसँग पुगोस् भनेर ल्याइरहेका हुन्छौँ । यसको गम्भीरता हेरिदिनुपर्यो । यसको फैसला हुन त अझै बाँकी नै छ । तर हाम्रो संविधान र सेन्सर बोर्डको नीतिअनुकुल नै चलचित्र निर्माण गरिएको छ । जुन समूदायको बारेमा चलचित्र बनाइएको छ उहाँहरुसँग नै पटक पटक बसेर सेल्फ सेन्सरसिप धेरै नै गरेर बनाइएको फिल्म हो । सेन्सर हुँदा पनि उहाँलाई देखाइएको हो । जसले मुद्दा हाल्नुभएको छ उहाँलाई नै चलचित्र देखाइएको हो ।’

यम थापा निर्देशित फिल्म ‘लाली बजार’ १८ वैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

अदालतले यसअघि नै सम्प्रदायका मानिसहरूको मानमर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्या उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुनअनुसार भुमिका निर्वाह गर्न आदेश दिएको र लाली बजारको रिटमा पनि सोहीअनुसार गर्न अल्पकालिन आदेश दिएको हो । चलचित्रमाथि वैशाख २२ सम्म प्रदर्शनमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?