काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार पश्चिमबाट सुरु हुने मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्ने सम्भावना छ ।
प्राधिकरणले विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा बागमती प्रदेशका नवलपुर र चितवन, मधेस प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
प्राधिकरणले हावाहुरी, मेघगर्जन र चट्याङ सुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र बस्न, झ्यालढोका राम्ररी बन्द गर्न तथा खुला स्थानमा आगो बालिएको भए तुरुन्त निभाउन आग्रह गरेको छ । तीव्र हावाहुरीका कारण आगो उडेर बस्ती वा वन क्षेत्रमा डढेलो फैलिन सक्ने जोखिम रहेको चेतावनी दिइएको छ ।
यस्तै कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन आग्रह गरिएको छ । हावाहुरीका बेला रुख ढल्न सक्ने भएकाले रुखमुनि सवारी साधन पार्किङ नगर्न तथा यात्रा गरिरहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सवारी रोक्न सुझाव दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मौसम अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाइएको छ । मौसममा खराबी देखिएमा हवाई उडानको रुट परिवर्तन वा डाइभर्ट गरिने बताइएको छ ।
कार्यकारी प्रमुख भट्टले सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्वयंसेवक र सामुदायिक संस्थालाई ‘हाई अलर्ट’मा राखिएको जानकारी दिए ।
प्राधिकरणले कुनै दुर्घटना भए नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ तथा विपद् उद्धारको टोल–फ्री नम्बर ११४९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ । प्राधिकरणले आधिकारिक मौसम बुलेटिन तथा सूचना नियमित रूपमा हेर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया