धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो

लोकपथ
21
Shares

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन खुलाएको हो ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट व्यक्तिगत विवरण पेस गर्न सूचना जारी गरेको छ । इच्छुक उम्मेदवारले १२ वैशाखभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा कार्यालय समयमा आवेदन दिनुपर्नेछ ।

अघिल्लो साता मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एशोसिएशनका पूर्वअध्यक्ष भूवनकुमार दाहाल सदस्य रहेका छन् ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुई साताअघि पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचार र अनियमितताको आरोप लागेका श्रेष्ठले सरकारले हटाउन सक्ने संकेत पाएपछि राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।

अध्यक्ष पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्ति योग्य हुनेछन् । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा प्रचलित कानूनअनुसार अयोग्य नभएको हुनुपर्नेछ । उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?