काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैँमा एउटा ‘ब्राण्ड’ भएको बताउँदै यसलाई तवरले ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।
विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले नेपालमा ब्राण्डको समस्या नरहेको बताएका हुन् ।
उनकाअनुसार नेपालका स्थानीय नामहरू नै ब्राण्डका रूपमा स्थापित हुन सक्छन् । नेपाल देशै ब्राण्ड हो । बाजुरा, सोनाम, लिखुखोला वा मुक्तिनाथ जुनसुकै नाम राखे पनि ती आफैँमा ब्राण्ड बन्ने उनको भनाइ छ । उनले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र पहिचान स्थापित गर्न बौद्धिक सम्पती अधिकारको कार्यान्वयन अनिवार्य रहेको बताए ।
तयारी पोशाक लगायतका नेपाली उत्पादनमा भइरहेको ‘कपि’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पाण्डेले मौलिक ब्राण्डिङको आवश्यकता औँल्याए ।
अध्यक्ष पाण्डेले भने,‘ब्राण्ड भनेको हाम्रो देशै ब्राण्ड हो । बाजुरा नाम राख्दिए पनि ब्राण्ड, सोनाम राख्दिए पनि ब्राण्ड, लिखुखोला भनेर राख्दिए पनि ब्राण्ड, मुक्तिनाथ राखे पनि ब्राण्ड । हाम्रो देशै ब्राण्ड हो । हामी त्यति उर्वर भुमिमा छौँ । हामीले यसमा आत्तिनु पर्दैन । हामीले जुन ब्राण्ड पनि राख्न सक्छौँ । हामीले प्रमोट गर्ने भनेको माथि सगरमाथाको चुचुरोदेखि तराईको इण्डियाको बोर्डरसम्मको सम्पूर्ण भागहरूलाई नाम राखेर हामीले ब्राण्डिङ गर्न सक्छौँ । त्यही नै हाम्रो भलो हो । ताकि हामीले अरूको कपि गरेर हाम्रो उन्नति हुँदैन । हाम्रो तयारी पोशाक लगायतका वस्तुहरूमा पनि विभिन्न कपिहरू छन्, त्यसलाई निक्र्यौल गरेर घटाउँदै जानुपर्छ ।’
मेरो उत्पादन, मेरो देश, विश्व बजार भन्ने नाराका साथ अघि बढ्न उद्यमीहरूलाई आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा प्रभुत्व जमाउनका लागि बौद्धिक संरक्षणको कामलाई तिब्रता दिनुको विकल्प नरहेको बताए ।
नेपालमा उपलब्ध ढाका, अल्लो, हेम्प (गाँजा), जडीबुटी, यार्सागुम्बा, शिलाजित जस्ता बहुमूल्य प्राकृतिक स्रोतहरूको परिचालनमा कानुनी समस्या रहेको पाण्डेले बताउँदै नयाँ सरकार र कर्मचारीतन्त्रलाई ती कानुनी गाँठो तत्काल फुकाउन आग्रह गरे ।
उनले हाल उद्योग विभागमार्फत हुँदै आएका बौद्धिक सम्पत्ति सम्बन्धी कामहरू अपर्याप्त रहेको भन्दै पाण्डेले छुट्टै ‘बौद्धिक सम्पती विभाग’ स्थापना गर्न सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया