रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

लोकपथ
42
Shares

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चबहिल पुर्‍याइएको छ । आइतबारको कार्यक्रमअनुसार रथलाई चबहिलबाट लगनखेलतर्फ लगिनेछ । 

जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । 

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो । रातो मत्स्येन्द्रनाथको जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथा अनुसार कुनै समय काठमाडौं उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । 

गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन । ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट नेपाल ल्याएका थिए । आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भयो । 

त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गर्न थालियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?