वर्षासँगै बीपी राजमार्ग बन्द, सवारी आवागमन ठप्प

लोकपथ
98
Shares

काठमाडौं । लगातार वर्षा भएपछि काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै शनिबार दिउँसोदेखि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मौसममा सुधार भई सडक सुरक्षित भएको पुष्टि भएपछि मात्रै आवागमन पुनः सञ्चालन गरिनेछ । त्यसका लागि छुट्टै सूचना जारी गरिने बताइएको छ ।

विशेषगरी कटुन्जेदेखि मंगलटार सडकखण्डअन्तर्गत घुमाउने आसपासको क्षेत्रमा वर्षा हुँदा समस्या बढ्ने गरेको छ । उक्त स्थानमा रोशी खोलामाथि अस्थायी ‘डाइभर्सन’ बनाएर सवारी सञ्चालन हुँदै आएको थियो ।

गत वर्ष असोजमा आएको बाढीले सो क्षेत्रमा सडक बगाएको थियो भने गएको चैतमा पनि बाढीका कारण सडक पुनः क्षतिग्रस्त भएको थियो । अहिलेको वर्षासँगै जोखिम बढेपछि सतर्कतास्वरूप राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?