काठमाडौं । लामो रस्साकस्सीकाबिच आज नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्दैछ । अपरान्ह ४ बजेबाट ५ बजेसम्म कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोकिएको छ ।
एक महिना लामो रस्साकस्सीपछि आज कांग्रेसले दलको नेता चयन गर्न लागेको हो ।
दलको नेताका लागि सांसदहरु मोहन आचार्य, अर्जुननरसिंह केसी र भिष्मराज आङ्दाम्बे आकांक्षी देखिएका छन् ।
कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयनका लागि सहमतिको प्रयास गरेको थियो । तर सर्वसम्मतिको प्रयास विफल भएपछि निर्वाचनबाटै दलको नेता चयन गर्न लागेको हो ।
दलको नेता चयनका लागि बिहीबारबाटै निर्वाचन प्रक्रिया सुरु भइसकेको छ ।
पार्टी सहमहामन्त्री समेत रहेका प्रकाश रसाईली स्नेहीलाई संयोजक तोकेर तीन सदस्यीय निर्वाचन समिति नै गठन गरिएको थियो । स्नेहीको संयोजकत्वमा अधिवक्ता राजु कटुवाल र मुना भुसाललाई सदस्य तोकिएको छ ।
बिहीबार दिउँसो १ बजे विधान तथा निर्वाचन निर्देशिका सम्बन्धी विषयमा सांसदहरुसँग छलफल गरेर प्रक्रिया सुरु भएको थियो । हिजो नै मतदाता नामावली प्रकाशन, दाबी विरोध, जाँचबुझ, अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ ।
उम्मेदवारी दरखास्तका लागि आज बिहान ११ बजेदेखि मध्यान्न १२ बजेसम्मका लागि समय तोकिएको छ ।
उम्मेदवारको नामका सन्दर्भमा दाबी विरोध, त्यसको जाँचबुझ लगायतका प्रक्रियापछि आज दिँउसो ३ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आज दिउँसो ४ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ ।
फागुन २१ को निर्वाचनपछि नेपाली कांग्रेस ३८ सिटसहित संसदमा दोस्रो दलको हैसियतमा रहेको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेस समानुपातिकमा २० सिट जितेको थियो ।
त्रिपक्षीय प्रतिष्पर्धाको सम्भावना
यसअघि जस्तो पार्टी सभापति नै दलको नेता बन्ने परम्परा यसपटक तोडिएको छ । गत निर्वाचनमा सभापति गगनकुमार थापासहित सबै पदाधिकारी पराजित बन्न पुगेपछि अन्य नेताहरु दलको नेता बन्ने दौडमा देखिएका हुन् ।
लामो रस्साकस्सीपछि सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसक्दा तीन जना मुख्य प्रतिष्पर्धामा देखिएका हुन् ।
अहिलेसम्मको अवस्था हेर्दा सांसदहरु मोहन आचार्य, अर्जुननरसिंह केसी र भीष्मराज आङ्दाम्बेबिच प्रतिष्पर्धा हुने देखिन्छ ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरणको बहस राम्रैसँग चल्यो । गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशन र त्यसबाट चयन नयाँ नेतृत्वलाई आधार मान्दै दलको नेतामा समेत पुस्तान्तरण हुनुपर्ने आवाज कांग्रेस वृत्तमा उठिरहेको छ ।
प्रतिष्पर्धीका रुपमा अघि आएका सांसद आचार्य रसुवाबाट तीन पटक प्रत्यक्षमा चुनाव जितिसकेका व्यक्ति हुन् । ०७४ सालमा कम्युनिष्ट पार्टीहरु एक भएको अवस्थामा समेत रसुवाबाट मोहनले पहिलोपटक चुनावमा जित हासिल गरेका थिए । साथै युवा र पुरानो पुस्ताबिच समन्वय गर्न सक्ने भन्दै आचार्यलाई अघि सार्नुपर्ने तर्क समेत कांग्रेसमा सुनिन्छ ।
यता दलको नेताका लागि चर्चामा आएका अर्का नेता हुन् अर्जुननरसिंह केसी । नाताले सभापति थापाका ससुरा रहे पनि कांग्रेसभित्र उनको योगदान र पहिचान आफ्नै किसिमको छ । वर्तमान संसदको सबैभन्दा ज्येष्ठ सदस्य रहेका केसी संसदीय अभ्यासमा पोख्त मानिन्छन् ।
नेविसंघको स्थापना कालदेखि नै राजनीतिमा लागेका नेता केसी निरन्तर संसदमा रहनेमध्येका एक पर्छन् । उनले फागुन २१ को निर्वाचनपछि नै दलको नेतामा नयाँ मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै आइरहेका छन् । गत निर्वाचनमा नेता केसी समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।
यता दलको नेताका लागि आकांक्षी देखिएका अर्का पात्र हुन् भीष्मराज आङ्दाम्बे । कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सहमहामन्त्री बनेका आङ्दाम्बे गत निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका हुन् । उनी पनि आफू पछि नहट्ने मूडमा देखिएका छन् । कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय काम गरेका आङ्दाम्बे आफूले पार्टीलाई मिलाएर लैजान सक्ने दाबी गर्छन् ।
त्यसो त दलको नेताका लागि युवाहरुलाई अघि सार्नुपर्ने तर्क समेत कांग्रेस वृत्तमा उठिरहेको छ । जसमा निश्कल राई, बासना थापा, योगेश गौचन थकाली, सन्दीप राना लगायतको नाम समेत अघि आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया