काठमाडौं । काठमाडौं, मोरङ र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–११ बबरमहलमा बा १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार काठमाडौं नरदेवी बस्ने रामेछापवासी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै, घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा र मोटरसाइकलमा सवारमध्ये एकजनाको टिचिङ हस्पिटलमा र एकजनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
उक्त मोटरसाइकल रोकिराखेको बा ९१ प २६७९ नम्बरको स्कुटरमा ठक्कर खाई अनियन्त्रित भएर प्र।३–०२–००९ प ३९२८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।
यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–७ सिसवनीमा प्र १–०२–०४ ह ०११६ नम्बरको सिटी सफारीको ठक्करबाट साइकलयात्री ६९ वर्षीय बलराम विश्वासको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, धनुषाको विदेह नगरपालिका–६ एकराही टोलमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–५ बस्ने ६० वर्षीय मौधरी मण्डल खत्वेको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल तथा चालकको खोजी भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया