विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

लोकपथ
35
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गरेका छन् ।

सुदूरुपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेको हो ।

वरिष्ठ उपाध्यक्ष डाँगीले मुलुकको उर्जा क्षेत्रमा देखिएका समस्याहरूको मुख्य जड प्रशारण लाइन रहेको भन्दै यसमा निजी क्षेत्रलाई प्रवेश दिइनुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेपनि हाल केवल १ सय ५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद् रहेको बताए ।

वि.सं.२०५५ सालदेखि निजी क्षेत्रले उर्जा उत्पादनमा प्रवेश पाएयता हालसम्म करिव ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिसकेको उल्लेख गर्दै डाँगीले सोहीअनुसारको उदार नीति अन्य क्षेत्रमा पनि आवश्यक रहेको बताए ।

उनले भने, ‘यत्रो सम्भावना बोकेर पनि हामीले काम गर्न सकेका छैनौँ । सुदूरपश्चिमको दार्चुला पट्टिको बिजुली भारतमा लैजान भौगोलिक रुपमा पनि सबैभन्दा नजिकको बजार बन्न सक्छ, जुन हाम्रो लागि ठूलो अवसर हो । जसरी २०५५ सालमा सरकारले निजी क्षेत्रलाई दिल खोलेर उर्जा उत्पादनमा लगानी गर्न ढोका खोल्यो, त्यसैगरी अहिले विद्युत व्यापार र प्रशारण लाइनमा नेपाल विद्युत प्राधिकरणको एकलौटी हटाएर निजी क्षेत्रलाई अनुमति पत्र दिनुपर्छ । प्रशारण लाइन र व्यापारमा ढोका नखोलिएसम्म ३० हजार मेगावाटको सरकारी लक्ष्य पूरा गर्न कठिन छ ।’

जलविद्युत आयोजनाले स्थानीय स्तरमा विकास र समृद्धि दुवै लिएर आउने दाबी गर्दै डाँगीले स्थानीय शेयरको विषयमा पनि निजी क्षेत्र संवेदनशील रहेको बताए ।

सरकारले लिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना पूरा गर्न निजी क्षेत्र पूर्ण रुपमा तयार रहेको तर त्यसका लागि आवश्यक पूर्वाधार र नीतिगत वातावरण निर्माणमा सरकारले कन्जुस्याँई गर्न नहुने डाँगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?