रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड

लोकपथ
21
Shares

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालबाट मंगलबजारसम्म रथ तानिँदैछ ।

वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरुको निकै ठूलो भीड लागेको छ ।

मंगलबार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्‍याइएको थियो । रथयात्राका क्रममा पुल्चोकबाट गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीय बताउँछन् ।

मंगलबार साँझ रथ गाबहाल पुगेपछि त्यहाँका बासिन्दाहरुमा छुट्टै रौनकता छाएको छ । आज गाबहालमा स्थानीय बासिन्दाहरुको पर्व अर्थात ‘जात्रा’ रहेको छ । जात्राका अवसरमा गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयहरुको जात्रा सम्पन्न भएपछि अपरान्ह रथलाई मंगलबजारका लागि तानिने कार्यक्रम रहेको छ । पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो ।

उपत्यकामा वर्षा गराउनको लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ । आज मंगलबजार पुर्‍याइएपछि रथलाई केही दिन त्यहाँ राखिने र त्यसपछि अन्य गन्तव्यहरुमा लगिने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?