संसद भवन निर्माणमा ढिलाइ, दोषी को ?

लोकपथ
49
Shares

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण व्यवसायीको कमजोरीको कारण सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निर्माणमा ढिलाइ भएको स्पष्टीकरण दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बौल्दै विभागका महानिर्देशक रविन्द्र बोहराले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले नयाँ संसद भवन निर्माण कार्यमा ढिलाई हुनुमा विभागको पनि आंशिक कमजोरी रहेको स्वीकार गरे । सरकारको डिजाइन र ठेक्का प्रणालीमा भएको कमजोरीको कारण पनि पनि विकास निर्माणका काम प्रभावित हुने गरेको उनको जिकिर छ ।

उनले भने, ‘संघीय संसद भवन निर्माणमा ढिलाई हुनुको मुख्य कारण चाँही निर्माण व्यवसायीको कमजोरीको हो । सेयरको समस्यादेखि कामदार व्यवस्थापन लगायत कुरा गर्दा काममा ढिलाई हुनुको मेजर समस्या रहेको छ । त्यसमा समग्रमा हेर्दाखेरी ३० प्रतिशत हामी जिम्मेवार छौँ । हाम्रो डिजाइन र ठेक्का प्रणालीमा समस्या रहेको कारण पनि विकास निर्माणका कार्यमा ढिलाई भइरहेको छ । मैले विगतकको विभागको नेतृत्व लिएर पनि बोलिरहेको छु । विगतमा भएका कमजोरीहरु हाम्रो नेतृत्व आएपछि हामीले दोहोर्याएका छैनौँ । त्यसबाहेक बाहिरको प्राकृतिक समस्याको कारण पनि निर्माण कार्यमा ढिलाई भएको हो । कोभिडदेखि अन्य समस्याहरु पनि त्यसमा पर्न सक्लान ।’

नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरण पुगेको उल्लेख गर्दै उनले आउँदो असारसम्म निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको बताए ।

२०७६ सालमा सिंहदरबारमा संसद भवन निर्माण सुरु भएको थियो । पटकपटक म्याद थप्दा पनि अझै संसद भवन तयार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?