काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सडकमा व्यवसाय गरिरहेका नागरिकमाथि विकल्प नदिई धरपकड गर्नु गलत भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गरिखाने नागरिकलाई जीविकोपार्जनका लागि अवसर नदिई घाँटीमा न्याँक्ने र धरपकड गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए ।
राईले सडकमा सानो व्यवसाय गरेर जीवन चलाइरहेका नागरिकलाई हटाउँदा विकल्प दिनुपर्नेमा जोड दिए । उनले यस्तो कार्यले अपराधका घटनामा वृद्धि हुने दाबी गरे ।
‘नागरिकलाई घाँटीमा न्याँकेको जस्तो देखिन्छ, घोक्र्याउने, मुन्ट्याउने काम भइरहेको छ,‘ राईले भने, ‘सडकमा सानो व्यवसाय गरेर खान खोजिरहेकालाई हटाइयो भने उनीहरू कहाँ जाने ? भोक लागेपछि नियम मान्दैन, त्यसपछि अपराधतर्फ जान सक्छन् ।’
उनले सरकारलाई हरेक निर्णय गर्दा दीर्घ सोच राखेर अघि बढ्न सुझाव दिँदै आधारभूत आवश्यकता गाँस, बास र कपास सुनिश्चित गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया