‘मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ’

लोकपथ
0
Shares
महामन्त्री घिमिरे काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेस पार्टीका महामन्त्री गुरुराज घिमिरे नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिले आइतबार काठमाडौँस्थित लाजिम्पाटमा आयोजना गरेको नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान चियापान तथा भितेपात्रो विमोचन कार्यक्रममा मन्तव्य राख्नुहुदै । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले आज आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताए ।

महामन्त्री घिमिरेले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी संघले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखे ।

‘मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ, ‘उनले भने ।

महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुरहेको उल्लेख गरे । उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउनेगरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताए ।

पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताए । उनले व्यवसायविना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राखे ।

सहमहामन्त्री लामाले होटल क्षेत्रले मुलुकमा लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्र विकासमा होटल क्षेत्रले खेलेको भूमिकालाई थप बढाउन राज्यले उचित नीति लिनुपर्ने बताए । होटललाई उद्योगको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले मध्यपूर्वको समस्याका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो समस्या उत्पन्न हुँदा यसको प्रभाव होटल क्षेत्रमा परेको बताए । उनले होटल व्यवसायीको समस्या समाधानमा कांग्रेसले काम गर्ने बताए ।

प्रतिनिधिसभा सांसद सन्तोष सुब्बाले व्यवसायीको हितका लागि कांग्रेसले लामो समयदेखि कुरा उठाउँदै आएको र पार्टीका तर्फबाट आफूले यसबारे संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

डेमोक्रेटिक लयर्स एसोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जेनजी आन्दोलनपछि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको र उक्त कार्य विशेष महाधिवेशनले पूरा गरेको बताए ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उपाध्यक्ष शैलेश कार्की, जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौंका अध्यक्ष सुरेश बराललगायतले मुलुकको अर्थतन्त्रको मुख्य खम्बा होटल व्यवसाय भएकाले यसलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?