कार्की प्रतिवेदनपछि पक्राउ परेका ओली अस्पतालबाट डिस्चार्ज

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात् अस्पतालबाट घर फर्केका (डिस्चार्ज) छन् । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी आज उपचारपश्चात् घर फर्केको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए । 

उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा. सेढाईंले बताए । 

गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो । 

गत चैत १४ गते बिहान ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित घरबाटै पक्राउ गरेको थियो । त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि त्यसयता उनी अस्पतालमै उपचाररत रहेका थिए ।

उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि त्यसमा सुनुवाइ हुँदा सर्वोच्च अदालतले हिरासतमा राख्ने म्याद थप नगर्ने आदेश दिएको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई हाजिरी जमानीमा छोडेको थियो । तर, स्वास्थ्यमा समस्या भएकाले उनी अस्पतालमै उपचाररत थिए । 

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले पक्राउ गरेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गत भदौ २३ गते आन्दोलनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा रोक्ने पहल नगरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?