काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले सेनाका कल्याणकारी कार्यलाई केवल वितरणमुखी नभई आयमूलक र आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताएका छन् ।
रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले अवकाश प्राप्त सैनिकहरूलाई समेत स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।
उनले सैनिक जीवनमा मात्र नभई अवकाशपछि पनि अनुशासित, जिम्मेवार र मर्यादित नागरिकको रूपमा समाजमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । साथै, कल्याणकारी कार्यलाई दिगो बनाउन संस्थागत प्रयाससँगै भूतपूर्व सैनिकहरूको सुझाव, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
रथी केसीले उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै व्यवहारिक र कार्यान्वयनयोग्य सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने सेनाको प्रतिबद्धता रहेको पनि स्पष्ट पारे ।
उनले नेपाली सेनाको अनुशासित, निःस्वार्थी र सेवाभावको परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सैनिक सेवाप्रति नयाँ पुस्तालाई आकर्षित गर्न अभिभावकहरूको भूमिकाको प्रशंसा गरे ।
उनका अनुसार नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानका कारण स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित भएको छ ।
रथी केसीले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता र व्यावसायिकताको पनि प्रशंसा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया