काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे ।
उनले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे ।
संसदमा कुनैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए ।
सभामुख अर्यालले भने, ‘नयाँ नजिरहरु स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अबको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंहरुले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेट पर्सेन्ट विधेयक ड्राफट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौ, पटक पटक बसौ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ ? भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।’
सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया