काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले ‘कमेडी दरबार’ मा पूर्वराजा ज्ञानेन्द्र शाहको चरित्रचित्रणसहित लगाएको पोशाकका विषयमा माफी मागेका छन् ।
‘कमेडी दरबार’को तेस्रो सिजनको प्रेस रिलिजका क्रममा ‘महाराज’ पात्रका क्रममा गजुरेलले पूर्वराजा ज्ञानेन्द्रको श्रीपेच (नक्कली)सहितको पोशाकबारे टिकाटिप्पणी भइरहेको छ ।
चौतर्फी रुपमा उक्त पोशाकलाई लिएर आलोचना भएपछि सामाजिक सञ्जालमा लेख्दै कलाकार गजुरेलले आफूहरुको उदेश्य कसैप्रति मानमर्दन गर्नु नभएको स्पष्ट पारे ।
‘आदरणीय दर्शकवृन्द, ‘कमेडी दरबार ३’ को प्रेस रिलिजमा प्रयोग गरिएको ‘महाराज’ पात्रको पोशाकलाई लिएर यहाँहरूले दिनुभएको चासो र सुझावप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो उद्देश्य कसैको मानमर्दन गर्ने वा भावनामा चोट पुर्याउने कदापि थिएन । कार्यक्रमको ‘थिम’ अनुसार, कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र प्रस्तुत गरिएको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमीकमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौँ,’ उनले भनेका छन् ।
त्यस्तै उनले नेपालका सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहरदेखि राष्ट्रिय सम्पदाका विषयमा हास्यव्यंग्य गर्दा आगामी दिनहरुमा थप सचेत र जिम्मेवार बन्ने समेत बताएका छन् ।
‘नेपालका सांस्कृतिक गरिमाहरु, ऐतिहासिक धरोहरहरु र राष्ट्रिय सम्पदाका विषयमा हास्यव्यङ्ग्य गर्दा आगामी दिनमा थप सचेत र जिम्मेवार रहने प्रण गर्दछु । वर्तमान सन्दर्भमा, देश र समाजलाई जोड्ने तथा साझा र समावेशी कलाकारिता नै हाम्रो मुख्य लक्ष्य रहनेछ,’ उनले भनेका छन्, ‘हाम्रा कमजोरी औंल्याएर हामीलाई सचेत गराउनुहुने सम्पूर्ण शुभेच्छुकहरूमा आभार व्यक्त गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया