काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएको घटनाका विषयमा सुरक्षा संयन्त्रबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षा संयन्त्रबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । उक्त समितिमा नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई र सशस्त्र प्रहरीका पूर्व एआईजी सुवोध अधिकारी सदस्य रहनेछन् ।
‘सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई सदस्य रहने गरी समिति गठन गर्ने,’ प्रवक्ता पोखरेलले भने ।
त्यसो त यसअघि जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया सुरु गरिसकेको छ । तर सरकारले सुरक्षा संयन्त्रको हकमा भने छुट्टै समिति गठन गरेर त्यसको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाउने बताएको थियो ।
त्यस्तै आजको बैठकमा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया