गगनको सन्देश– ‘म अघि बढिसकेँ, डिस्टर्ब नगर्नू’

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । मंगलबार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आ–आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए ।

सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाई थियो ।

‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिस्टर्ब नगरिदिनु होला । कसैले म कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रीय सदस्य साथीहरु यहाँ हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो । मैले आज शुरु गरेँ । अब वैशाख १५ गते भित्र तपाईहरुले पनि आ–आफनो वडा पार्टी कार्यालयमा गएर सबै साथीहरु आ आफनो ठाउँमा जानुपर्छ । त्यो ठाउँबाट अध्यावधिक गर्नुपर्छ । कोही साथीहरुले विशेष अवस्थाले जान नसक्ने हुनुहुन्छ । कोही साथी देश बाहिर हुनुहुन्छ । यो सबै कुरा पार्टीले बुझेको छ । त्यस्तो अवस्थामा हामी त्यही अनुसार विशेष व्यवस्था गर्दछौ । पार्टीको यो काममा मलाई सबैको सहयोग चाहिन्छ । कसैले यो सदस्यताको बारेमा केही कुरा बुझनु भएको छैन भने कृपया पार्टीको केन्द्रिय कार्यालय आईदिनु होला । महामन्त्रीहरुले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाई दिनु हुन्छ । तर बाहिर यो सदस्यताको बारेमा यो हुन लाग्यो, त्यो हुन लाग्यो । हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाईदिन लाग्यो भनेर अनावश्यक रुपमा कोलाहल मचाईदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।’

कांग्रेसले विशेष कारणबश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ ।

सभापति थापाले कांग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरुले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पारे ।

पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु पार्टीका सबै नेता, कार्यकर्ताहरुको दायित्व रहेको सभापति थापाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?