टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल थाल्न प्रधानमन्त्री समक्ष सांसद लामिछानेको माग

लोकपथ
140
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ का सांसद डा.अच्युतम लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा जिल्लाको विकास तथा राष्ट्रिय नीति सुधारका विभिन्न विषय उठाएका छन् ।

उनले टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि सुरु गर्नुपर्ने प्रमुख माग राखे । लामो समयदेखि चर्चामा रहे पनि काम अघि नबढेकाले तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद लामिछानेले नुवाकोटसँग जोडिएका सडक पूर्वाधारलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले पासाङ ल्हामु राजमार्गअन्तर्गत रानीपौवा–पिपलटार खण्ड छिटो अघि बढाउन, विदुर–मेगाङ–किस्पाङ–खनियाबास हुँदै धादिङ जोड्ने सडकमा बजेट विनियोजन गर्न तथा तीनपिप्ले–कोल्पुटार सडक निर्माण सुरु गर्न सुझाव दिए । साथै जीर्ण सिँचाइ पुलहरूको पुनर्निर्माण गर्नुपर्ने उनले बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनले प्राविधिक शिक्षालाई प्राथमिकता दिन, स्वास्थ्य बीमा प्रभावकारी बनाउन र सरकारी अस्पतालमा सेवा सहज बनाउनुपर्ने धारणा राखे । औषधि कारोबारमा बिचौलिया नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

त्यस्तै, प्रशासनिक सेवामा सुधार गर्दै राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन तथा सबै जिल्लामा लाइसेन्स वितरणको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो ।

कृषि, उद्योग र खेलकुद क्षेत्रका विषयमा पनि उनले विभिन्न प्रस्ताव राखे। कृषि क्षेत्रमा मल र बीउ समयमै उपलब्ध गराउनुपर्ने, शीत भण्डारणको व्यवस्था गर्नुपर्ने तथा विदेशबाट आउने तरकारीमा कडा गुणस्तर जाँच गर्नुपर्ने बताए ।
उद्योग क्षेत्रमा बन्द रहेका गोरखकाली टायर, हेटौडा कपडा र हेटौडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्नुपर्ने सुझाव उनले दिए ।
खेलकुद क्षेत्रमा नेपालमै खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्ताव पनि उनले राखे ।

सांसद लामिछानेले समय अभावका कारण सबै विषय राख्न नसकेको र बाँकी सुझाव लिखित रूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउने बताएका छन् । उनले छलफलका लागि अवसर दिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?