बिसु पर्व मनाउन घर फर्कँदै नेपाली

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल नेपाल चेक पोष्टले जनाएको छ ।

सो चेक पोष्टका अनुसार भारतका विभिन्न सहरबाट दिनहुँ एक हजार बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किनेको सङ्ख्या धेरै छ ।

लामो समयदेखि दिल्लीको होटलमा काम गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिका घर भएका डम्बरबहादुर खड्काले बिसु मनाउनकै लागि घर फर्केको बताए ।

‘बिसुपर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ,’ खडकाले भने, ‘जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको दुःख भुल्न सहयोग गर्छ ।’

भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका कैलालीको ओलानीका हरि आउजीले पनि पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताए । रोजगारीका लागि छिमेकी मुलुक भारत जाने सर्वसाधारण कोही छोटो समय त कोही लामो समयका लागि जाने गर्दछन् ।

खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेलामात्र घर फर्कने गर्दछन् ।

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्गलोरलगायत ठूला सहरमा जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?